प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ तोक्ने संसदमा प्रस्ताव ः बुटवलमा बिराेध दाङमा खुशीयाली
असाेज १६, बुटवल।
प्रदेश ५ सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रमा तोक्ने प्रस्ताव पेश गरेको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेशसभामा प्रस्ताव पेश गरे लगत्तै । दाङमा खुसीयाली र बुटवलमा बिभिन्न स्थानमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लगायत स्थानीयबासीहरूले सडकमा टायर बालेर बिरोध प्रदर्शन गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )को शीर्ष नेतृत्व तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने मन्त्री केसीले प्रस्ताव पेस गरेका थिए ।
अाज शुक्रबार बुटवललगायतका क्षेत्रमा आन्दोलन चर्किएकाे छ भने दाङमा भने खुसीयाली छाएको छ । दाङका प्रदेशसभा सदस्य ईन्द्रजित थारुले देउखुरीमा राजधानी राख्ने प्रस्तावमा खुसी व्यक्त गरे । उनले यसलाई अवसरको रुपमा लिने भन्दै भौगाेलिक र प्रशासनिक सुगमता हिसावले देउखुरी सबैलाई पायक पर्ने बताए ।
नेकपा रुपन्देहीका प्रदेशसभा सदस्य दघिराम शर्मा न्यौपानले आफुहरु बुटवलको पक्षमा रहेको भन्दै भोलि पार्टीको बैठकपछि मात्र थप प्रतिकृया दिने बताए । उनले प्रस्ताव ल्याउँदैमा सबै नहुने भन्दै प्रस्तावमा संशोधनका लागि पार्टीमा आफुहरुले कुरा उठाउने बताए । नेकपा प्रदेश संसदीय दलको बैठक शनिबार विहान बस्दै छ ।
जनता समाजवादी पार्टीका रुपन्देहीका सांसद सन्तोष पाण्डेयले अहिले सरकारले कोरोना नियन्त्रण गर्नु पर्ने बेला गलत समय झुक्काएर प्रस्ताव ल्याएको आरोप लगाए । उनले बुटवललाई स्थायी राजधानी बनाउँदा सबैलाई हरेक हिसावले पायक पर्ने बताए । सरकारले झुक्काएर प्रस्ताव ल्याएको भन्दै राजधानी अन्यत्र लैजाने प्रयासविरुद्ध आफूहरुले सदनदेखि सडकसम्म विरोध गर्ने उनले चेतावनी दिए । १९ गतेसम्मको लागि बैठक स्थगित गरिएको छ । बुटवल क्षेत्रबाट राजधानी हटाउने षड्रयन्त्र भएकाले सडकबाट कडा विरोध गर्नुको विकल्प छैन ।
दाङका प्रदेशसभा सदस्य रेवती रमण शर्माले दाङ सबै हिसावले उपयुक्त भएका कारणले सरकारले प्रस्ताव लगेको बताए । उनले भोलिको विकासलाई मध्यनगर गर्दे उपयुक्त ठाउँमा राजधानी राखिएको बताए । उनले दाङ राजधानी हुँदैमा बुटवलको विकासलाई असर नपर्ने बताए । उनले नयाँ ठाउँमा राजधानी बनाउदाँ त्यो ठाउँको विकास पनि हुने भएकोले भावी दिनलार्इ ध्यान राख्दै राजधानी टुग्गाउनु पर्ने बताए ।
नेपाली कांग्रेसका पाल्पाका सांसद विरबहादुर रानाले पहिलो सरकारले गरेको निर्णय अनुसार बुटवल नै बिभिन्न दृष्ट्रिकोणबाट उपयुक्त भएको बताए । उनले यहाँ भौतिक पुर्वाधार, नजिकैको विमानस्थल आदि अध्ययन गरेर पहिलेको सरकारले निर्णय गरेकोले त्यसलाई नै निरन्तरता दिनुपर्ने बताए ।

नेपाली काँग्रेस रुपन्देहीका अर्का सांसद फकरुदिन खानले सरकारले चोर बाटोबाट प्रस्ताव ल्याएको अरोप लगाए । उनले राजधानीका बिषयमा बनेको संसदको विशेष समितिको प्रतिवदेन सांसदहरुलार्इ अध्ययन गर्न नदिई कार्यसूचीबाट हटाउँदै प्रस्ताव ल्याएको बताए । ुयसरी ल्याउनु थियो भने बिषय समिति किन गठन गर्नु परेको रु अनि विज्ञ समुह किन राखिएको हो । अनि यति लामाे समय किन ढिलाई गर्नु परेको हो , उनको प्रश्न थियो । बुटवल हरेक हिसावले ठीक रहेकोले राजधानी बाहिर लैजाने विषयमा कडा विरोध गर्ने चेतवानी दिए ।
प्रदेश ५ मा संविधान बमोजिमको प्रत्यक्ष निर्वाचित सांसदको ५२ सिटलाई ६० प्रतिशत मानी बाँकी रहेको ४० प्रतिशत सिटमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने ३५ जना गरी जम्मा ८७ जना सदस्य रहेको प्रदेश सभा गठन भएको छ । जसमा नेकपाका ६१, नेपाली काँग्रेस १९ जसपाका ६ र जनमोर्चाका १ सांसद रहेका छन्
प्रदेश गठनका बेला गुल्मी पाल्पालाई प्रदेश नम्बर ४ मा मिसाएर प्रदेश टुक्राउने चर्चा चलेपछि बुटवलले झण्डै १ महिना सशक्त आन्दोलन भएको थियो । निर्वाचनका बेला नेकपाका वर्तमान महासचिव बिष्णु पौडेलले बुटवललाई नै राजधानी बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए भने उता दाङमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङका प्रश्नमा लबिङ गरेपछि पौडेलले त्यसको प्रतिबाद गर्दै बुटवलबाट कुनै हालतमा प्रदेशको राजधानी अन्त जान नसक्ने बताउँदै आएका थिए ।

